महिलाको सामुदायिक भवन अलपत्र, दुई वर्षदेखि कोही भवनभित्र छिरेनन्

0
15

केदारस्युँ गाउँपालिका वडा नम्बर ५ मा रहेको थापागाउँ महिला सामुदायिक भवन अलपत्र परेको छ । केदारस्युँ गाउँपालिको २ लाख ५० लागतमा निर्माण गरिएको उक्त भवनभित्रबाट पानीको मुहान निस्केपछि अलपत्र परेको हो ।

थापागाउँ महिला समूहले आफ्नो बैठक र सामाजिक कार्य गर्न दुई वर्ष अगाडी बनेको थापागाउँ महिला सामुदायिक भवनमा अहिलेसम्म न त बैठक बस्यो न त कसैले छिरेर हेरेका छन् ।

पानीको मुहान छ भन्ने थाहा हुँदाहुँदै सार्वजनिक जमिन नपाएपछि खोला किनारामा बनाएको उक्त एककोठे जस्ता पाताले छाएको भवनमा अहिले लेउ र हिलो मात्रै रहेको छ ।

दुई वर्ष अगाडी हिउँदे महिनामा बनाएको र अहिले बर्खायाममा पानी निस्किएको थापागाउँ महिला समूहकी अध्यक्ष धौलीदेवी गुर्धामीले बताउनुभयो । भवन बनाएपछि सिमेन्टेड गरेकाले पानी आउला भन्ने आफूहरुलाई थाहा नभएको अध्यक्ष गुर्धामीले बताउनुभयो ।

भवनभित्र राखिएका कुर्सी टेबल अहिले अध्यक्ष गुर्धामीको घरमा राखिएका छन् । पानी निस्केपछि यस भवनभित्र कोही छिरेका छैनन् । अहिले भवनको मूल ढोकामा ताला लागेको छ ।

भवन बनेदेखि कहिल्यै कोही छिरेनन् मलाई दिएको भए म पसलको गोदाम घर बनाउने थिएँ नजिकै पसल सञ्चालन गरिरहेका हिक्मत गुर्धामीले भने ।

थापागाउँ महिला समूह सचिव कमला गुर्धामीले भवनका लागि धेरै जमिन खोजेको तर नभेटिएकाले यस ठाउँमा बनाउन बाध्य भएको बताइन् ।

महिला समूहले अहिले कुनै छलफल र बैठक गर्नुपरेमा गाउँको कुनै घरमा गरिरहेका छन् । हिलाहरुले निर्माण गरेको यो सामुदायिक भवन सञ्चालनमा नआएपछि स्थानीयले ढुङ्गाले हानेर जस्ताको पाता फुटाउने गरेका छन् ।

गाउँपालिकाको २ लाख ५० हजार रकम बालुवामा पानी खन्याए जस्तै भएको स्थानीय चक्र बहादुर गुर्धामीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here