तीन स्वास्थ्य कार्यालयको सेवा एकै ठाउँबाट

0
11

जाजरकोट सदरमुकाम खलंगामा रहेको जन स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र जिल्ला आयुर्वेद कार्यालय एकै ठाउँमा मर्ज गरी सेवा विस्तार गर्ने भएको छ।
जन स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र जिल्ला आयुर्वेद कार्यालयले यसअघि फरक फरक ठाउँबाट सेवा प्रवाह गरिरहेका थिए। तर हाल कर्णाली प्रदेश सरकार मातहतमा रहेपछि तीनवटै कार्यालयबाट प्रवाह हुने सेवा एकै प्रकारका भएकोले एकै ठाउँमा मर्ज गरेर सेवा प्रवाह सहज बनाउनका लागी तीनवटै कार्यालय मर्ज गरी सेवा विस्तार गर्ने स्वास्थ्य सेवा कार्यालयको जनाएको छ।

जाजरकोट सदरमुकाम खलंगामा रहेका जन स्वास्थ्य कार्यालय , जिल्ला अस्पताल र जिल्ला आयुर्वेद कार्यालय प्रदेश सरकार मातहतमा रहेकोले प्रदेश सरकारको व्ययभार बढेको भन्दै मर्ज गरिएको जनाएको छ।

जाजरकोटमा मर्ज भएका स्वास्थ्य सेवा कार्यालयको राष्ट्रिय सभाका सदस्य भैरवसुन्दर श्रेष्ठले उद्घाटन गर्नुभएको छ। स्वास्थ्य सेवा कार्यालय जाजरकोटको उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सदस्य श्रेष्ठले तीनवटा कार्यालयले दिने सेवा एकै प्रकारका भएकोले एकै ठाउँबाट नागरिकलाई सेवा प्रदान गर्न सजिलो हुने बताउनुभएको थियो।

भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले छरिएर रहेको सेवा एकै ठाउँवाट सञ्चालन भएकोले आगामी दिनमा सेवा प्रवाह प्रभावकारी बन्ने बताउनुभयो।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले छरिएर रहेका सेवा सुविधा जनताको सरकारले जनताकै बीचमा पु¥याउने गरी सञ्चालनमा ल्याएकोले सम्पूर्ण स्वास्थ्यकर्मी कर्मचारीले सहजरूपमा सेवा सञ्चालन गर्न आग्रह गर्नुभयो ।

स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख रवीन भुसालले आफूहरूले प्रभावकारी सेवा सञ्चालनमा जोड दिने बताउँदै आवश्यकताअनुसार सरोकारवाला निकाय, नागरिक समाजलगायतको सहयोग लिएर अगाडि बढ्ने बताउनुभयो।

अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले जाजरकोटका लागि तीनवटै कार्यालय एकै ठाउँमा मर्ज हुनु नयाँ काम भएको बताउँदै नागरिकलाई कार्यालयको सेवा सुविधालगायत सेवा प्रवाहका विषयमा जानकारी दिँदै तत्काल काम शुरू गर्ने बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here